देउखुरी। लमही नगरपालिकाले राजपुर हाटबासका अग्नि पीडितहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । आज मंगलबार राजपुर गाउँपालिका-७क्क्क हाटबास पुगेर लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले अग्नि पीडितलाई एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको हो ।
लमही नगरपालिकाको नेतृत्वमा देउखुरी उद्योग वाणिज्य संघ लमहीले चिउरा, लत्ताकपडा, जुत्ता चप्पल, पानी, तरकारी, झुल, बलाङ्केट गरि एक लाख ५ हजार ९ सय ५ रुपैयाँ बराबरको सामाग्री, नेपाल औषधि व्यवसायी संघ दाङले चामल, नुन गरि ४० हजार रुपैयाँ बराबरको सामाग्री, गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले नगद २५ हजार रुपैयाँ, स्वर्गद्वारी कश्यप सेवा समाज लमहीका अध्यक्ष सन्जय कुमार गुप्ताका अनुशार समाजले लत्ताकपडा, चाउचाउ गरि अठहत्तर हजार १ सय ५० रुपैयाँ बराबरको खाद्यान्नका सामाग्री उपलब्ध गराएको छ । देउखुरीका क्रियाशिल सामाजिक संघ संस्थाले अग्नि पीडितलाई स्वतस्फूर्त रुपमा राहत संकलन गरि उपलब्ध गराएका हुन ।
राहत स्वरुप आर्थिक सहायताका लागि घोषणा गर्दै आगलागीबाट विक्षिप्त बनेका अग्नि पीडितलाई नगरपालिकाको सहयोगले घाउमा मलम लगाउने काम गर्ने बताउनु भयो । आपत विपतका बेला सबैको सहयोग रहनु नै मानवियता भएको नगर प्रमुख चौधरीको भनाई छ ।
त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले आगलागी पीडितको राहत सहयोगमा जुट्न सबैलाई आग्रह गर्नु भयो । दैवीप्रकोप कस्लाई कतिबेला आइपर्छ कसैलाई जानकारी नहुने भन्दै यस्ता प्रकारका विपतमा सबै एक भएर लाग्नु पर्ने योगीले बताउनु भयो ।
त्यसैगरी देउखुरी उद्योग वाणिज्य संघ लमहीले पनि अग्नि पीडितलाई खाद्यान्नका सामाग्री उपलब्ध गराएको छ । संघका अध्यक्ष कमल जंग सिंह ठकुरी सहित पदाधिकारीको टोलीले अत्यावश्यक खाद्यान्नका सामाग्री उपलब्ध गराएको अध्यक्ष ठकुरीले बताउनु भयो । जहाँसुकै घटना घटेपनी मानवताको नाताले हामीले सक्दो सहयोग गर्नु पर्छ, यो बेला हामीले सहयोग नगरे कस्ले गर्छ”- अध्यक्ष ठकुरीले भन्नू भयो ।
त्यसैगरी देउखुरी उद्योग वाणिज्य संघ लमहीले लमही नगरपालिका -९ तेलियाका दुई घर परिवार अग्नि पीडितलाई लत्ताकपडा, चप्पल, चिउरा लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
त्यस्तै नेपाल औषधि व्यवसायी संघ दाङले पनि हाटबासका अग्नि पीडितलाई खाद्यान्न र औषधि प्रदान गरेको छ । संघका अध्यक्ष विष्णु प्रसाद पौडेल र उपाध्यक्ष मधु सुदन पाण्डेले त्यहाँ पुगेर ४० हजार बराबरको खाद्यान्न गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी र राजपुर गाउँपालिका-७ का वडा अध्यक्ष पुष्कर वलीलाई उपलब्ध गराएको हो ।
राहत रकम उपलब्ध गराउदै गोरखा मोडेल सेकेण्डरी स्कुलका प्राचार्य लोकमान रिजालले लामो समयदेखि समाजिक कार्यमा गोरखा ग्रुपको उपस्थिति रहेको भन्दै जहाँ विपतका घटना हुन्छन त्यहाँ सदैव गोरखा ग्रुपको सक्रियताका साथ सहयोग र उपस्थिति रहने बताउनु भयो ।
दाताहरुबाट प्राप्त भएको राहत सामाग्री ग्रहण गर्दै राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले धन्यवाद ज्ञापन गर्दै सबै सहयोगीहरुसंग सहयोगको अपिल गर्नु भएको छ । अग्नि पीडितलाई सहयोग गर्नु हुने दाताहरुलाई गाउँपालिकासंग समन्वय गरिदिन समेत आग्रह गर्नु भएको छ ।