वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र खानाको व्यवस्था गर्न आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गर्नुभएको हो ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तब्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् ।

यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गर्नुभएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने बिषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । “यस बिषयमा हामीहरु पनि गम्भिर छौ । एयरलाईन्स कम्पनीहरुले व्यवसायिक फाईदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,” उहाँले भन्नुभयो । त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाईन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाईदिनुपर्नै उहाँको भनाई छ ।

नेपालबाट औसत एक हजार पाँच सय युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यि मुलुकहरुमा विभिन्न एयरलाईन्स उडान भर्दै आएका छन् ।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका बिषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस