राप्ती प्रतिष्ठानमा ज्येष्ठ नागरिक उपचार सेवा: बितेको ८ महिनामा १ हजार बढीको नि:शुल्क उपचार

दाङ– दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बितेको ८ महिनामा एक हजार बढी जेष्ठ नागरिकहरूले निस्शुल्क सेवा पाएका छन्।

प्रतिष्ठानका निमित्त अस्पताल कामु अस्पताल निर्देशक डा. रमेश कँडेलले गएको साउनदेखि फागुनसम्म १ हजार ८७ जना जेष्ठ नागरिकले निस्शुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिए। जसमा महिलातर्फ ६ सय ६२ जना र पुरुषतर्फ ४ सय २५ जेष्ठ नागरिकले सेवा लिएका छन्।

जेष्ठ नागरिकको उपचारको लागि १३ लाख २९ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको छ। रगत, एक्सरेसहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शत प्रतिशत जेष्ठ नागरिकलाई छुट दिने पनि गरिएको छ।

जेष्ठ नागरिकहरूको उपचारको सहजताका लागि धेरै सुधारको काम भइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए।

प्रतिष्ठानमा टोकन प्रणालीदेखि जेष्ठ नागरिकमैत्री हुनेगरी उपचार सेवा प्रभावकारी बनाइएको पनि बताए।

उपचार पाउने जेष्ठ नागरिकहरूमा नयाँ ५ सय ६५ र पुरानो फलोअप ५ सय २२ जना रहेको कामु निर्देशक कँडेलले जानकारी दिए।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानले न्युन बजेटमा पनि धेरै धेरै संख्यामा जेष्ठ नागरिकहरूको निस्शुल्क उपचार गरिरहेको बताए।

सरकारले केन्द्रबाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फवाट पनि खर्च गरेर जेष्ठ नागरिकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेटभन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताए।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको व्यवस्था गरेर प्रतिष्ठानले सेवालाई प्रभावकारी बनाउँदै लगेको छ।

प्रतिष्ठानले ओपिडीसहित १२ बेडको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले जानकारी दिए।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस