वर्ष २०८० लाई ऐतिहासिक बनाउने यी पाँच महिला खेलाडी

नेपाली खेलकुद क्षेत्रका लागि वर्ष २०८० मा सफलता, असफलता, विवाद र जालझेलको सम्मिश्रण रह्यो। तर केही महिला खेलाडीले दिलाएको सफलताले भने वर्ष २०८० सर्वाधिक सफल र सधैं यादगार वर्षका रूपमा छाप छोड्न सफल भयो।

नेपाली खेलकुदमा महिला खेलाडीको वर्चस्व र सफलताको श्रृंखला– २०८० को सुरुवातबाटै भयो। ब्लाइन्ड महिला क्रिकेटमा विश्व कीर्तिमानी प्रदर्शनदेखि एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले व्यक्तिगत स्पर्धामा जितेको रजत पदक महिला खेलाडीकै नाममा रह्यो। यहाँ पाँच महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने महिलाको बारेमा छोटकरीमा वर्णन गरिएको छ।

विनिताले बनाएको विश्व कीर्तिमान

नेपालले करिब ७ वर्षअघि विश्वमै पहिलो पटक दृष्टिविहीन महिला क्रिकेट टोली बनाएर कीर्तिमान बनाएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सीमित हुने भए पनि नेपाली महिला खेलाडीहरू सहभागिता जनाउँदै आएका थिए। नेपालमा महिला क्रिकेटको सुरुवातसँगै अवसर पाएमा नेपाली महिला टोलीले नयाँ इतिहास बनाउने कुराको प्रमाणित विनिता पुनले गरिन्। उनी विश्वमा दृष्टिविहीन महिला क्रिकेटमा पहिलो शतक प्रहार गर्ने खेलाडी बनिन्।

वर्षको सुरुवातमै अर्थात् वैशाख दोस्रो साता पोखरामा भएको भारतविरुद्धको खेलमा उनले १११ रनको उत्कृष्ट शतकीय इनिङ खेलिन्। जुन शतक महिला दृष्टिविहीन क्रिकेटमा पहिलो शतकका रूपमा रह्यो। नेत्रहीन संघ गण्डकीले आयोजना गरेको नेपाल भारत दुईपक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेटमा उनले बनाएको यो उपलब्धिले महिला खेलाडीको वर्षको सुखद् सुरुवात गर्‍यो।

फुटबलमा साम्बाको छलाङ

नेपाली महिला राष्ट्रिय फुटबलकी फर्वाड सावित्रा भण्डारी ‘साम्बा’ का लागि मात्र होइन, महिला फुटबलका लागि नै वर्ष २०८० सम्झनलायक बन्यो। अझ व्यक्तिगत उपलब्धिका हिसाबले साम्बा युरोपमा फुटबल खेल्ने पहिलो नेपाली खेलाडीको रूपमा रहन सफल भइन्। उनले पहिलो पटक गत जेठमा इजरायली क्लब ‘हापोएल रानाना’बाट त्यहाँको व्यावसायिक लिग खेल्नका लागि अनुबन्ध भइन्। एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघको सदस्य रहेको छ। जसका कारण सावित्रा युरोपमा व्यावसायिक फुटबलका लागि अनुबन्धन हुने पहिलो खेलाडी बनिन्।

तर इजरायलमा लामो समय साम्बा खेल्न पाइनन्। इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण उनी स्वेदश फर्किइन्। लगत्तै उनी विश्वका धेरै महिला खेलाडीको सपनाका रूपमा रहने फ्रान्सको शीर्ष डिभिजन खेल्ने क्लबमा अनुबन्धन हुँदै युरोपको ‘टप लिग’ खेल्ने कीर्तिमान बनाउन सफल भइन्। साम्बाले फ्रान्सको एन अभान्ट ग्वेंगाम्पमा आवद्ध हुँदै ऐतिहासिक रूपमा महत्त्वपूर्ण उपलब्धि हासिल गरिन्। युरोपमा नेपाली खेलाडीले व्यावसायिक रूपमा प्रतिस्पर्धा खुलेको वर्षका रूपमा २०८० सावित्रा र समग्र नेपाली खेलकुदका लागि सम्झनलायक वर्षका रूपमा रहने छ।

एसियाडमा ऐतिहासिक रजत दिलाएकी एरिका

गत असोजमा ‘जम्बो’ टोलीसहित एसियाली खेलकुद सर्वाधिक ठूलो इभेन्ट ‘एसियाड’ मा सहभागिताका लागि नेपाली टोली पुगेको थियो। ठूलो संख्यामा खेलाडी र पदाधिकारी चीन पुगे पनि उपलब्धिविहीन हुने खतरा बढिरहेको थियो। खेलको अन्तिम क्षणमा कबड्डीले टिम इभेन्टमा पदकविहीन हुने खतरा टार्दै पहिलो काश्य पदक जित्यो। तर नेपालका लागि सर्वाधिक सम्झनलायक क्षण भने १९ वर्षीया एरिका गुरुङले करातेको कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहमा रजत पदक जित्दै ऐतिहासिक उपलब्धि दिलाइन्।

व्यक्तिगत इभेन्टमा नेपालले २५ वर्षपछि रजत पदक जित्दा करातेमा पहिलो रजत पदकका रूपमा रहेको थियो। साथै नेपालको इतिहासमा समग्रमा तेस्रो रजत पदक रह्यो। २०१८ मा प्याराग्लाइडिङमा रजत जितेको नेपालले व्यक्तिगत स्पर्धामा भने १९९८ पछि रजत जितेको थियो। सविता राज भण्डारीले तेक्वान्दोमा रजत जितेको २५ वर्षपछि एरिकाले नेपाललाई रजत दिलाउँदै वर्ष २०८० मा नेपाली खेलकुदका लागि सम्झनलायक वर्षका रूपमा छोड्न सफल भइन्।

पारा खेलमा पलेशा छाएको वर्ष

नेपाललाई अन्तर्राष्ट्रिय पारा खेलमा लगातार उपलब्धि दिलाउँदै आएकी पलेशा गोवर्धनका लागि वर्ष २०८० अविस्मरणीय वर्षका रूपमा रह्यो। चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदमा ऐतिहासिक काश्य जित्दै पहिलो पटक नेपाललाई पारा एसियाडमा पदक दिलाउन सफल भएकी पलेशाले ओलम्पिक छनोट पार गर्दै ओलम्पिक सहभागिता जनाउने पहिलो पारा खेलाडीको कीर्तिमानसमेत बनाउन सफल भइन्। समग्रमा भने ओलम्पिक छनोट पूरागर्ने तेस्रो नेपाली खेलाडी बनिन्।

पलेशाले एसियाडमा महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजी तौलमुनिको समूहमा कास्यपदक जित्दै इतिहास रचेकी हुन्। पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य नेपाली पारा एसियाडमा जितेको पहिलो पदकका रूपमा रह्यो। नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको भए पनि पदकको खुसी भने पहिलो पटक साट्न सफल भयो। चौंथो संस्करणदेखि सहभागी गराइएको तेक्वान्दोमा पलेशाले दिलाएको खुसीले समग्र पारा खेलाडीको हौसला बुलन्द बनायो नै, नेपालमा समेत पारा खेलको विकास र विस्तारमा उनको प्रदर्शनले सम्बन्धित निकायलाई घचघच्याउन ठूलो योगदान दियो। पलेशाले चैतको सुरुवातमा ओलम्पिक छनोट चरण पार गर्दै अर्को इतिहास लेखाउँदै वर्षको सुखद् बिदाइ गरिन्।

नेपालका लागि रुविनाले प्रहार गरेको पहिलो अन्तर्राष्ट्रिय शतक

नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिताको करिब २ दशकपछि पहिलो शतक प्रहार गर्‍यो यसै वर्ष। २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थालेयता सधैं शतकको प्रतीक्षामा रहेको नेपाली महिला क्रिकेट अन्तत: रुविना क्षेत्रीको शतकसँगै यो वर्ष एउटा अर्को उपलब्धि हासिल गर्न सफल भयो।

गत फागुनमा भएको एसिसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको अविजित शतकीय इनिङ खेलिन्। जुन नेपाली क्रिकेटको एउटा इतिहासका रूपमा सधैं जीवित रहने छ। नेपाली राष्ट्रिय टिममा लामो समय कप्तानको भूमिका निभाए पनि यसै वर्ष उनको कप्तानी खोसियो तर रुविनाले मैदानमा आफ्नो लयलाई गुम्न भने दिइनन्। उनले ऐतिहासिक उपलब्धि अन्ततस् आफ्नो नाममा पार्न सफल भइन्।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस