नारायणपुर । घोराही उपमहानगर पालिका वडा नंम्बर १० नारायणपुरमा अर्गानिक मल र विषादी बनाउने तालिम मंगलवारदेखि सुरु भएको छ । ‘अर्गानिक खेती गरौं, मानव जीवन स्वस्थ बनाउ’ भन्ने नारासहित तालिम सुरु भएको हो ।
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र ओजरार कृषि सहकारी संस्था नारायणपुरको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिम उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पाण्डेले पछिल्लो समय आधुनिक खेतिमा अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग हुने भएकाले माटोको उर्वराशक्ति कम हुँदै गएको बताए । अत्याधिक मलको प्रयोगले प्रत्यक्ष तथा गंभिर असर मानव स्वास्थ्यमा परेको पाण्डेले बताए ।
किटनाशक औषधिको प्रयोगले मानव स्वास्थ्यसँगै वातावरणमा समेत असर पारेको बताउँदै किसानहरुलाई अर्गानिक खेती गर्नको लागि प्रेरित गर्न तालिमको आयोजना गरेको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष रावतले बताए । आफुले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरेर आफ्ना छिमेकीहरुलाई अर्गानिक खेती गर्न सिकाउन सहभागीहरुलाई आग्रह गरे । रासायनिक मलको प्रयोगले मानवको आयु घट्दै गएको बताउँदै अर्गानिक खेति गरेर मानव र पृथ्वीको आयु बढाउन सहभागीहरुलाई आग्रह समेत गरे । कार्यक्रममा मुक्त कम्लहरी विकास मञ्चका केन्द्रिय उपाध्यक्ष निर्मला चौधरीले कार्यक्रमको महत्व रहेको वताइन ।

ओजरार कृषि सहकारी संस्थाका अध्यक्ष कमला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक लिला चौधरीले गरेकि थिइन । प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतम रहेका छन् ।
तालिममा घोरही उपमहानगर पालिका वडा नंम्बर ८, ९, १०, ११, १२ गरि ४५ जना कृषकहरूको सहभागिता रहेको छ । तालिम फागुन २९, ३० र चैत्र १ गतेसम्म चल्नेछ ।


