सप्तकोशी र आसपासका तलावहरूमा जलपंक्षी गणना सुरु

सप्तकोशी र आसपासका तलावहरूमा मध्य हिउँदे जलपंक्षी गणना सुरु भएको छ । नेपालमा पाइने ८ सय ८४ प्रजातिका चरामध्ये ५ सय ३५ प्रजातिका चरा पाइने कोशी क्षेत्रमा बुधबारदेखि जलपन्क्षी गणना सुरु भएको हो ।

बराहक्षेत्र नगरपालिकाको चतरास्थित कोशी पुल क्षेत्रबाट चरा गणना सुरु गरिएको कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताए ।

कोशी पंक्षी समाजको नेतृत्वमा बर्सेनि कोशी आसपासको क्षेत्रमा चरा गणना चल्ने गरेको छ । समाजका अध्यक्ष तिम्सिनाका अनुसार दुई दिन पानीबाट र तीन दिन बाहिरबाट चरा गणना हुनेछ ।

दुईवटा डुङ्गाबाट नदीमा बगेर पूर्वी र पश्चिमी भागबाट गणना गरिन्छ । वेटल्याण्ड इन्टरनेशनल नामक संस्थाले गएको ३१ वर्षदेखि कोशीमा चरा गणना गर्दै आएको छ ।

यस अवधिमा हरेक वर्ष चराको संख्या घट्दो क्रममा पाइएको छ । मंगोलियादेखि साइबेरिया लगायतबाट कोशीमा आउने जलपंक्षीमध्ये धेरैजसो अन्न मात्रै खाने छन् । सिमसारहरूमा मान्छेको उपस्थिति देखि खुल्ला जमिनहरू प्लटिङ हुन थालेपछि पछिल्लो समय कोशी क्षेत्रमा चराको उपस्थिति घट्दै गएको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस