काठमाडौं डाइक्लोफेनेक मुक्त घोषणा

काठमाडौं । काठमाडौं जिल्लालाई ७७औं पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर र नेपाल पंन्छी संरक्षण संघको संयुक्त आयोजनामा विहीबार ललितपुरमा जिल्ला स्तरीय सरोकारवाला निकायहरुको सहभागितामा भएको कार्यक्रममा गिद्ध संरक्षण संचेतना तथा पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो ।

दुखाई, सुनिने र ज्वरो आएको बेला प्रयोग गरिने दर्द विनाशक औषधि डाइक्लोफेनेक प्रयोग गरिएका पशु चौपायाहरुको मृत्यु भई गिद्धको आहारा बन्न गएमा उक्त सिनो खाएका गिद्धको मृगौला खराब भई गिद्धको मृत्यु हुने भएकोले गिद्धको संरक्षणका लागि डाइक्लोफेनेक मुक्त जिल्ला बनाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधानले बताए ।

कार्यक्रममा नेपाल पंन्छी संरक्षण संघ, काठमाडौंका प्रमुख कार्यकारी अधिकृत इशाना थापा र गिद्ध संरक्षण कार्यक्रम ब्यवस्थापक अंकित विलाश जोशीले नेपालमा गिद्धको अवस्था, उपलब्धि, चुनौती, पशु उपचारमा प्रयोग गरिने औषधीहरु, पशु डाइक्लोफेनेक घोषणाका आधार र आगामी दिनमा गिद्ध संरक्षणका लागि गरिनु पर्ने पहलहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौंका प्रमुख डा. बरुण शर्मा, औषधि ब्यवस्था विभागका प्रमोद के।सी, राष्ट्रिय निकुञ तथा वन्यजन्तु संरक्षण विभागका श्याम कुमार साह, भेटेरिनरी एशोसियशनका अध्यक्ष राम कुमार खतीवडा, डिभिजन वन कार्यालयका डा. आशुतोष भट्ट, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डा. चित्रा गरुङ्ग, डा. निशा तिमिल्सीना, डा. नितेश कार्की, प्राविधिकहरु, एग्रोभेट प्रोप्राइटर, नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपाली, गिद्ध संरक्षण कार्यक्रम ब्यवस्थापक अंकित विलाश जोशी र सहायक अनुसन्धा अधिकृत सन्तोष बजगाईको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस