आठौं पटक मेसीले जिते बालोन डे’ओर अवार्ड

काठमाडौं । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।

मेसील म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते । ‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर फेरि एकपटक यहाँ उपस्थित भएर यो क्षणलाई इन्जोए गर्नु उत्कृष्ट हो,’ मेसीले अवार्ड जितेपछि भने ।

फ्रान्स फुटबले प्रदान गर्ने यस अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।

विश्वका १०० पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस