सल्यानका ३० प्रतिशत  बढि नागरिक  विद्युतकाे पहुँच बाहिर


सल्यान ।
निगालचुलाका घर घरमा विस्तारै सोलार टुकी पुगेको छ । तर‚ वर्षौंदेखिको बिजुलीको प्रतीक्षा कहिले पुरा हुने भन्ने टुंगो छैन । निगालचुला बनगाड कुपिण्डे नगरपालिका-१२ मा पर्ने बस्ती हो । निगालचुलामा बिजुली लग्ने प्रयास नभएको भने होइन । वितरण लाइन विस्तार गर्न नेपाल विद्युत्त प्राधिकरण सल्यानले गत वर्षदेखि ठेक्कामार्फत काम थालेको थियो । काम समयमै पुरा नहुँदा घर-घरमा अझैसम्म बेलुकी टुकीको उज्यालोको भर पर्नुपर्ने बाध्यता रहेकाे छ ।

निगालचुलाका झन्डै एक हजार परिवार सौर्य टुकी प्रयोग गर्दै आएका छन् । नजिकैको बस्तीमा राती बत्तीको झिलीमिली देख्दा कालिमाटी गाउँपालिका-५ का स्थानीयलाई रमाइलो लाग्ने कुरै भएन ।

कालिमाटी गाउँपालिका-७ काप्रेचौरका प्रेम शर्माले विद्युत्त लाइन विस्तार हुन थालेपछि गत वर्ष नै घरमा बत्ती बाल्न वाइरिङ गराउनुभएकाे थियाे । गाउँमा विद्युत वितरणका लागि लाइन त विस्तार भयो‚ तर ट्रान्सफर्मर पुगेन । उहाँको घरमा अझै बिजुली पुगेको छैन । ट्रान्समिटर समयमै जडान नहुँदा उहाँ मात्र नभई बस्तीका झन्डै ८ सय परिवार अझै टुकीको भरमा रहेका छन् ।

सल्यानका १० स्थानीयका अझै ३१ प्रतिशत घरपरिवार विद्युत पहुँचमा छैनन् । त्यसमा आधाभन्दा कम जनसंख्या सोलार टुकी बाल्न थालेको छ । धेरै परिवार परम्परागत टुकीकै भरमा छन् ।

सल्यानका १० स्थानीय तहमा ८३ वडा छन् । कालीमाटी गाउँपालिकाको ५, ७ वडा र बनगाड कुपिण्डे नगरपालिकाको १० र १२ गरी चारवटा वडामा विद्युत्त विस्तारको काम हुन सकेको छैन । धेरैजसो वडाका वडा कार्यालयसम्म राष्ट्रिय प्रसारणलाइनको बिजुली जोडिए पनि आसपासका बस्तीमा विस्तारको क्रम निकै सुस्त रहेको छ ।

विद्युत्त प्राधिकरणले मात्र नभइ जिल्लामा स्थानीय तह र खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानले विद्युत्त विस्तारको काम गरिरहेका छन् ।
धेरै ठाउँ भौगोलिक विकटताका कारण काम रोकिएका छन् । केहीमा ठेक्काको किचलो र केहीमा प्राविधिक कारणले लाइन विस्तारको काम प्रभावित भएका छन् । तार तानेर पनि ट्रान्सफर्मर नपुगेका बस्तीका बासिन्दा पोल हेरेर चित्त बुझाउन बाध्य भएका छन् ।

जनगणना २०७८अनुसार सल्यान जिल्लामा ५४ हजार ६ सय ७२ घरधुरी छन् ।  २ लाख ३८ हजार ५ सय १५ जनसंख्या रहेकाे छ । जसमा १६ हजारभन्दा बढी परिवार विद्युत पहुँच बाहिर रहेका छन् ।

विद्युत्त प्राधिकरण सल्यानका अनुसार शारदा नगरपालिका‚ बागचौर‚ बनगाड कुपिण्डे‚ कपुरकोट‚ त्रिवेणी‚ सिद्धकुमाख‚ कालीमाटी‚ छत्रेस्वरी र कुमाखका विभिन्न भागमा अझै बिजुली बिस्तार हुन बाँकी रहेकाे छ । स्थानीय तहका केन्द्र र बजार क्षेत्रलाई लक्ष्य गरेर लाइन विस्तार भए पनि ग्रामीण क्षेत्रका बासिन्दाको विद्युत पहुँच बढेको छैन ।

विद्युत प्राधिकरणले कालिमाटी गाउँपालिका-७ काप्रेचौरको घुइयाबारीमा २०७७ र २०७९ मा दुई पटक टेन्डर गरी लाइन विस्तार गरे पनि ११ केभीको लाइन जडान गर्न सबस्टेसन छैन । बस्तीबासी अहिले पनि बिजुलीविहीन भएको वडाध्यक्ष मित्रलाल रिजालले बताउनुभयाे ।

विद्युत्त प्राधिकरणको सल्यान कार्यालय प्रमुख अशोक लोहनी योजनाको काम प्रत्येक वर्ष भइरहे पनि भौगोलिक विकटतासँगै घरहरु टाढा-टाढा छरिएर रहेकाले विस्तारमा लागत धेरै आउने बताउँनुभयाे ।  आगामी दुई वर्षभित्र जिल्लालाई पूर्णरूपमा विद्युत्तीकरण गर्न यस वर्ष सरकारले कुमाख, दार्मा, कपुरकोट गाउँपालिका, बाग्चौर नगरपालिकाको ५७ करोड विनियोजन गरेर ठेक्का गरेको उहाँकाे भनाई छ । कालिमाटी-४ मा सवस्टेसन निर्माणका लागि ३ अर्ब बराबरको ठेक्का भएको उहाँले जानकारी दिनुभयाे ।

कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले विगतमा पर्याप्त बजेट अभावमा पालिकाका धेरै बस्तीमा विद्युत विस्तार प्रभावित भए पनि अब काम भइरहेकाे बताउँनुभयाे ।

केन्द्रले सवस्टेसन निर्माणको बजेट छुट्याएकाले केही वर्षभित्रै सबैले बत्ती बाल्न पाउने उहाँले बताउनुभयाे । कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार चन्दले भने बिजुली पुर्याउन नसकेका केही वडाका बासिन्दालाई सोलार वितरण गरिएको बताउनुभयाे ।

खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले ऊर्जाका लागि गत वर्ष करिब ५ करोड बजेट आएकाले त्यसबाट जिल्लाका केही पालिकामा विद्युतीकरणको काम गर्दा एक हजार परिवार लाभान्वित भएको बताउनुभयाे ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस