आज जनैपूर्णिमा, क्वाँटी खाने दिन

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा. शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आज क्वाँटी खाने दिन

जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपाली समाजमा विभिन्न चाडपर्व मान्ने क्रममा जनैपूणिर्माको दिन जनै धागो लगाउने र विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । यो विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटीको झोल खाने प्रचलन रहेको पाइन्छ । वास्तवमा नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको सुप हो ।

त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ । यो आलेख क्वाँटी, यसको महत्व र यसले पुर्‍याउने फाइदाका बारेमा नै बढी केन्द्रित हुनेछ ।

क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समय, मौसम परिवर्तन र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूणिर्मा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीको रस खाने प्रचलनका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारण लुकेका छन् ।

क्वाँटीमा पाइने विभिन्न पौष्टिक पदार्थले ऊर्जा प्राप्त हुने, शरीरमा रोगव्याधि र परिश्रमका कारण कोषहरूमा आएका समस्या समाधान हुने, शारीरिक वृद्धि विकास वा शरीरको मर्मतसम्भारमा सहयोग पुग्ने, व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्ने र रोग लाग्नबाट बचाउन सक्छ जुन अति वैज्ञानिक छ । त्यसकारण क्वाँटीको सेवन सांस्कृतिक मूल्यमान्यताबाट प्रभावित भएर गरिए तापनि यसबाट विभिन्न फाइदा पाउन सकिन्छ ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस