दाङमा असार अन्तिमसम्म ६५ प्रतिशत खेत बाँझै

तुल्सिपुर । दाङमा असारको अन्तिमसम्म पनि ६५ प्रतिशत खेत बाँझै छन् । मनसुन भित्रिन ढिला गरेका कारण जिल्लामा यसवर्ष अहिलेसम्म ३५ प्रतिशत मात्रै धान रोपाई भएको छ । जुन गतवर्षको तुलनामा १० प्रतिशत कम हो । गतवर्ष असारको अन्तिमसम्म जिल्लामा ४५ प्रतिशत सकिएको थियो ।

यसवर्ष समयमै वर्षात नहुँदा दाङमा धान रोपाई गर्न ढिला भएको हो । असारको अन्तिमसम्म पनि दाङमा ६५ प्रतिशत खेत बाँझै रहेका छन् । दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तिमध्ये असारको अन्तिसम्म १३ हजार ७ सय ९० हेक्टर क्षेत्रफमा मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामीछानेले बताउनुभयो ।

उहाँका अनुसार देउखुरी उपत्यकामा भन्दा दाङ उपत्यकामा कम धान रोपाई भएको छ । जिल्लामा १९ हजार हेक्टर क्षेत्रफल खेतमा मात्रै बाह्रै महिना सिंचाई हुने गरेको छ ॥

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस