तुल्सिपुर । क्यानडा र पोल्याण्ड पठाउँने भनेर विभिन्न ब्यक्तिहरुबाट लाखौँ पैसा लगेर तुलसीपुर ७ बस्ने अंकित अधिकारी फरार भएपछि पीडितहरु ठगिएका छन् । दाङका विभिन्न ब्यक्तिहरुलाई क्यानडा र पोल्याण्ड पठाउने भनेर नक्कली भिसा र टिकट देखाएर उनीले एक लाखदेखि २७ लाखसम्म पैसा अशुलेर भागेपछि पीडितहरु बुधबार पत्रकार सम्मेलन गरी ठगएिका बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका २ खैरीपुरका गंगा बहादुर डाँगी करिब २ महिना जेठ १६ गते क्यानडाको उडान हुने भन्दै उनी घरबाट विदाई भएर काठमाडौँ गए । अधिकारीले नक्कली टिकट र भिष्सा देखाएर विदाई भएर गएका उनी काठमाडौँ गएपछि मात्र ठगिएको थाहा पाए । उनले विभिन्न मितिमा अधिकारीलाई २५ लाख बुझाएको बताए ।
यस्तै अर्का रोहित केसीले पनि अंकितलाई क्यानडा जाने भनेर २७ लाख विभिन्न समयमा बुझाए । उनी पनि क्यानडा जानको लागि काठमाडौँ गए । उडान हुने दिनसम्म कुनै पनि कागजपत्र नपाएपछि आफू ठगिएको उनले थाहा पाए ।
तुलसीपुर उपमहानगरपालिका १५ का गगन कार्कीले पनि छोरालाई क्यानडा पठाउनका लागि १७ लाख बुझाए थिए । उनीलाई पनि अंंकितले नक्कली टिकट र पैसा देखाएर पैसा लगेका छन् । आफूहरुले यसरी ठगिएको जानकारी प्रहरी प्रशासनलाई दिएको समेत उनले बताए ।