विकको परिवारलाई घर हस्तान्तरण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ग्वारखोलास्थित अशक्त असहाय चन्द्र लाल विकको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

लोकदोहोरी गायिका टीका सानुको नेतृत्व तथा क्यानडामा बस्ने सन्जु केसीको आर्थिक सहयोग र अनलाइन पत्रकार संघ दाङ शाखाको सहकार्यमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एचआर मगरको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको हो ।

अनलाइन टिभी पत्रकार संघ दाङका सदस्य दिपक वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि टीका सानुले आफूले पहिले धेरै जस्तो दुख, कष्ट भोगेर यहाँसम्म आएको र त्यस्ते दुख, कष्ट अरु कसैले पनि भोग्न नपरोस भन्दै गरिब, असहायलाई सहयोग गर्दै आएको बताइन् ।

गायिका टीका सानु र एच आर मगरको विशेष पहलमा देश तथा विदेशबाट आर्थिक सहयोग जुटाएर घर निर्माण गरेको गायिका सानुले बताइन् । विगतदेखि नै आफू गायन सँगसँगै समाजसेवामा लागेको बताउँदै सानुले हालसम्म विभिन्न स्थानमा चार वटा घर निर्माण गरी हस्तान्तरण गरेको बताइन् । उनले बाहिरी सजावट भन्दा पनि आफ्नो मन, आत्मलाई सजाउने हो भने जो कोही पनि दुखी र असहाय नबन्ने बताइन् ।

नव निर्मित घरको चावी गायिका टीका सानु, वडाध्यक्ष रामबहादुर जिसि र एच आर मगरले चन्द्रलाल बिकलाई हस्तान्तरण गरेका थिए । चावी बाट ग्रहण गदै विकले आफु रोजगारको सिलसिलामा मलेसिया गएको समयमा प्रेसरले हान्दा एउटा हात र खुट्टा नचल्ने भएपछि नेपाल फर्कन समेत पैसा नभएको बेला टिका सानुको पहलमा नेपाल आएर औषधी उपचार गरेर अहिले अलिअलि हिड्न सक्ने भएको बताए । ‘आफ्नो घर नहुँदा भाडामा बस्दै आएकोले आफ्नो परिवार पाल्न धौ धौ परेको बताउँदै विकले नयाँ घर पाएकोमा खुशी हुँदै धन्यवाद व्यक्त गरेका थिए । विकका दुई छोरी र एक छोरा छन् तर छोराको छातीमा समस्या भएकाले उपचार समेत गर्न नसकेको उनले बताए । सानुले विकको परिवारलाई र उनको छोराको उपचारको लागि सबैले सहयोग गरिदिन विशेष आग्रह गरेकी छिन् ।

त्यस्तै अर्का विशिष्ट अतिथि जय शिव महाकाल मानव सेवा आश्रमका अध्यक्ष शेरबहादुर पुनले असहाय अशक्तलाई सहयोग गर्नु नमुनायोग्य काम भएको बताए । आफुहरुले पनि विगत आठ महिनादेखि कोही र केही नभएकालाई निशुल्क रुपमा तुलसीपुरको बसपार्कमा खाना खुवाउँदै आएको बताए ।

भौतिक रुपमा घर निर्माण कार्य सम्पन्न गर्न खर्क बहादुर रानाले सहयोग गरेका थिए । सो कार्यक्रममा विकलाई स्थानीय विरमा परियारले एक हजार पाँच सय, मोहन वलीले एक हजार, भुपाल वलीले एक हजार र तिलसरा विकले पाँच सय २० रुपैया सहयोग गरेका थिए ।

२०८० बैशाखदेखि सुरु भएको घर निर्माणका लागि सहयोग गर्नेहरुको नाम र सहयोग रकम शिलालेखमा राखएिको छ । त्यस्तै कार्यक्रमा गायिका टीका सानु, गायक यनप्रसाद न्यौपाने, हुमा विक, सागर वली लगायतकाले आफ्नो प्रस्तुती राखेर मनोरञ्जन दिएका थिए ।

उक्त घर निर्माण कार्य सम्पन्न गरी सहयोग गर्नेलाई सम्मान सहति प्रमाण पत्र प्रदान गरिएो थियो । कार्यक्रमको सञ्चालन अनलाइन पत्रकार संघ दाङका सदस्य भिम वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस