नेपाल नेत्र ज्योति संघ दाङले गर्‍यो १९ औँ साधारण सभा

तुल्सीपुर । नेपाल नेत्र ज्योति संघ दाङ शाखाले सामान्य चिकित्सा र फामेसी कक्षा गर्ने भएको छ । संघको १९ औँ साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा शाखा सचिव सुरेन्द्र कुमार खड्काले संघको दाङ शाखाले सामान्य चिकित्सा र फार्मेसी कक्षा संचालन गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले कक्षा संचालनको लागि प्रक्रिया अघि बढीसकेको जानकारी दिनुभयो । यस्तै थप अत्याधुनिक उपकरणको माध्यमबाट उपचार सेवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले राप्ती तथा बहादुरगञ्जको कार्यक्रमलाई सन् २०३० सम्म आँखा स्वास्थ्य कार्यक्रमलाई आत्मनिर्भर बनाउने योजना रहेको समेत बताउनुभयो ।

संघको दाङ शाखा अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता तथा संविधान सभा सदस्य बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उपाध्यक्ष रेशम बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा कोषाध्यक्ष श्यामप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अस्पताल प्रमुख समशेर थापाले संघले आँखा उपचार सेवालाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो । उहाँले सन् २०१४ देखि सन् २०२२ सम्म ५ लाख ४९ बढीलाई आँखा उपचार सेवा गरेको बताउनुभयो । संविधान सभा सदस्य बुद्धिराम भण्डारीले आँखा अस्पताललाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी सुशील बस्नेतले आँखा अस्पतालले जोगाएको विश्वास गुमाउन नहुने बताउनुभयो । कार्यक्रममा डा। सुलक्ष्मी कटुवाल, निवर्तमान प्रदेश सभा सदस्य शंकर गिरी, पूर्व जनप्रतिनिधि ढुण्डीराज लामिछाने, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज खनाल, धुर्व गौतम ,मदन धिताल, गोविन्द बस्नेत लगायतले आँखा अस्पताल सबैको साझा संस्था भएकोले संस्थालाई बचाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा संघले डा.सुलक्ष्मी कटुवालसहित ६ जनालाई सम्मान गरेको छ । संघले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस