पुदिनाको सेवनले के फाइदा गर्छ ?

मोही वा सर्बतमा पुदिनाको दुई–चार पात मिसाएर पिउँदा पाचन यन्त्र पनि चुस्त हुन्छ । पेट ढुस्स भएको बखत पुदिना चपाउनुहोस्, क्षणभरमै राहत मिल्छ ।

खासमा पाचन शक्ति बढाउने असाध्यै गुणी वनस्पति हो यो । अपच भएमा, सास गन्हाएमा, पेटमा जुका परेमा र श्वासप्रश्वासको समस्या भएमा पुदिना उपयोगी हुन्छ ।

के हो पुदिना ?

पुदिना सुगन्धित र औषधीय गुणले भरिपूर्ण वनस्पति हो । यो बाह्रमासे वनस्पति जापानी मिन्ट, मेन्थोलको प्राथमिक स्रोत हो । पुदिना केही प्रजातिका हुन्छन् । यद्यपि औषधि र खानका लागि मेन्था स्पिक्टा लिन्न प्रजाति प्रयोग गरिन्छ ।

अलि मलिलो माटोमा सजिलै फैलिने पुदिनालाई आयुर्वेदमा विशेष मानिन्छ । पुदिना यी कुराहरुमा उपयोगी मानिन्छः

– पुदिनामा कफनाशक गुण हुन्छ ।

– ज्वरो, खोकी, हैजामा उपयोगी मानिन्छ ।

– ग्यास्ट्रिकबाट बच्न वा कतिपय दुखाइ कम गर्न मद्दत गर्छ ।

– अपच हुँदा पनि पुदिना खानु लाभदायक हुन्छ ।

के पाइन्छ पुदिनामा ?

पुदिनामा खास केही पोषक तत्व पाइन्छन् । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटेसियम, आइरन, म्याग्नेसियम, क्याल्सियम, फाइबर पाइन्छ ।

स्वास्थ्यदेखि सौन्दर्यसम्म

आज विश्वभरका कतिपय उत्पादनमा पुदिनाको उपयोग गरिन्छ । यसलाई मूलतः औषधिमा प्रयोग गरिन्छ । त्यसबाहेक पेय पदार्थ, पान मसलादेखि सौन्दर्य प्रसाधनसम्ममा पुदिनाको प्रयोग गरिन्छ ।

पुदिनाका फाइदाहरुः
१. खानामा स्वदिष्ट पुदिना एक राम्रो मुख ताजा राख्ने ९माउथफ्रेसनर० पनि हो ।

२. पुदिना पाचन क्रियाको लागि सर्वोत्तम विकल्प हो ।

३. गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।

४. बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।

५. मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।

६. पुदिनाले केही प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।

७. यात्रा गर्दै हुनुहुन्छ र बान्ता हुने समस्या छ भने पुदिना सेवन गर्नुहोस् । यसले बान्ता रोक्छ ।

८. पेटको दुखाइ, अरुचिमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केही नुन हालेर पकाएर खान सकिन्छ ।

९. प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।

१०. पुदिनालाई पानीमा उमालेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय-समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।

११. पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केही दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।

१२. हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस