दाङ । जिल्लाका १० स्थानीय तह मध्य बुधबार चैतेदशैँको अवसरमा ३ स्थानीय तहले स्थानीय बिदा दिएका छन । यस्तै बंगलाचुली गाउँपालिकाले चैतेदशैँको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कमिरेचौरको मंगलबार बसेको कार्यपालिका बैठकले चैते दशैँको अवसरमा एक दिन स्थानीय विधा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । स्थानीय बिदामा गाउँपालिका भरीका सरकारी कार्यालयहरूमा बिदा हुने उनको भनाइ छ । यस्तै राजपुर गाउँपालिकाले पनि चैते दशैँको अवसरमा स्थानीय बिदा दिएको जानकारी दिएको छ ।
गाउँ कार्यपालिकाको बसेको बैठकले चैत १५ गते एक दिन स्थानीय बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए । यस्तै लमही नगरपालिकाले पनि चैते दशैँको अवसरमा बिदा दिएको छ ।
नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र विद्यालयहरूमा स्थानीय बिदा दिइएको नगर प्रमुख जोगराज चौधरीले जानकारी दिए । यस्तै विद्यालयमा सञ्चालन भइरहेका पूर्व निर्धारित समय तालिका अनुसार परीक्षा यथावत रहने नगरपालिकाले जनाएको छ ।