काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको लक्ष्य पाएको छ । आसिफ खान र भृत्य अरविन्दको विस्फोटक ब्याटिङसँगै यूएईले घरेलु टोली नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको हो ।
लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको यूएईका लागि महम्मद वसिम र भृत्य अरविन्दले ७९ रनको साझेदारी गरे । बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका बसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो ।
अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो ।
तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे ।
अरविन्द भने ९४ रन बनाएर अन्तिम बलमा आउट भए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।