तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नयाँ वषपार्क पुलचोकमा सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को तयारी तीव्र पारिएको छ । जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत महापुराण सञ्चालन हुन लागेको हो ।
आयोजक जयशिव मंहाकाल मानवसेवाले श्रीमदभागवत महापुराणको तयारी तिव्र पारिएको जनाएको छ । अहिले महापुराण सञ्चालन हुने स्थानमा सरसफाई गर्नुका साथै मञ्च बनाउने काम भइरहेको जयशिव महाकालका सचिव शम्भु बुढा मगरले जानकारी दिए ।
जयशिव महाकालले तुलसीपुरस्थित बसपार्कमा १ सय २५ दिनदेखि कोही नभएका र केही नभएका भोकाहरुलाई भोजन र प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क रुपमा खाना खुवाउँदै आएको छ । खासगरी केही नभएकाहरुलाई खाना खुवाउने मात्रै नभएर उनीहरुको उपचार गर्नुका साथै बस्नको लागि घर बनाउने उदेश्यले महापुराण आयोजना गरिएको जयशिव महाकाल मानवसेवा आश्रमका सचिव मगरले जानकारी दिए ।
महापुराणमा आर्थिक दानसँगै नच्यातिएको सफा कपडा पनि दान गर्न सकिने आयोजकले जनाएको छ। महापुरानको प्रमुख कथा वाचकमा श्री अच्युतशरण धिताल र उपवाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् ।