काठमाडौँ । राष्ट्रपति निर्वाचनको प्रक्रिया आजदेखि शुरु हुदै छ । निर्वाचन आयोगले आज उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका राखेको छ ।
नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।
राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को ३३१ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी कूल ८८१ कायम रहेका छन् । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेशसभा सदस्यको मतभार फरक हुने भएकाले सो व्यवस्था गरिएको हो ।
धारा ६२ ९१० मा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार सङ्घीय कानुनबमोजिम फरकफरक हुने उल्लेखित छ । निर्वाचन आयोगले २०६८ को जनसंख्याको आधारमा नै मतभार कायम हुने निर्णय गरेपछि सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । कूल जनसङ्ख्या ९पछिल्लो राष्ट्रिय जनगणनाअनुसार० लाई सङ्घीय संसद्का सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर सङ्घीय संसद्का सदस्यको मतभार निकालिन्छ ।
कूल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई प्रदेशसभा सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर प्रदेशसभाका सदस्यको मतभार निकालिन्छ ।
राष्ट्रपतिको उम्मेदवार बन्न पाँचरपाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।
बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनःमतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।
कुन दलको कति छ मतभार
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।
संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो । यसपटक पनि २०६८ को जनगणनालाई नै आधार मान्ने भएपछि सोहि नै मतभार कायम भएको छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा कुल मतभार ५२ हजार ७०७ रहेको छ ।
जसमा संघीय सांसदहरुको कुल मतभार २६ हजार ३०७ रहेको छ भने प्रदेश सांसदको कुल मतभार २६ हजार ४०० रहेको छ ।
दल अनुसारको मतभार
नेपाली कांग्रेस: १६ हजार २२१
नेकपा एमाले: १५ हजार २३३
नेकपा माओवादी केन्द्र: ७ हजार ६४९
एकीकृत समाजवादी: २ हजार ५७४
राप्रपा: २ हजार ४५०
जसपा: २ हजार १४५
राष्ट्रिय स्वतन्त्र पार्टी: १ हजार ५०१
जनमत पार्टी: १ हजार २४२
लोसपा: ९७१
नागरिक उन्मुक्ति पार्टी: ८१३
नेपाल मजदुर किसान पार्टी: २२३
राष्ट्रिय जनमोर्चा: २०६
हाम्रो नेपाली पार्टी: ९६
नेपाल संघीय समाजवादी पार्टी: ४८
नेपाल समाजवादी पार्टी: ४८
मनोनित: २३७
स्वतन्त्र: १०५०