गणतन्त्र, समाजवादको यात्रामा अझै हामी अघि बढ्न जरुरी छ : मास्की

बिजौरी । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्की(राजेश)ले आफूहरुले जुन जनवादी, गणतन्त्रको उद्देश्य राखेको थियौं, त्यो गणतन्त्र, समाजवादको यात्रामा अझै हामी अघि बढ्न जरुरी रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका १८ वडा कमिटीको सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

२८ औं वलिदान दिवसको अवसरमा माओवादी केन्द्रद्वारा सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मास्कीले हिजोका दिनमा आफ्नो नेतृत्वमा जनयुद्ध लड्दै गर्दा एकै रातमा ७०/७५ जनासम्मको बलिदान भएको, समाज परिवर्तनको निम्ति मर्न परे आवश्यक कोटा पूरा गर्ने, मर्न तयार भएर आफ्ना निम्ति मरे पनि सहिद हुने छौ भनी गाडिने, कुटो कोदालो बोक्ने सचेत प्रयत्न गरेर हिड्ने पार्टीका लडाकु आफूहरु भएको बताए ।

‘समाजमा परिवर्तन ल्याउन, यो व्यवस्था ल्याउनको निम्ति हामी लड्यौं । तर हामीले सोचेको व्यवस्था अझै आएको छैन । हामीले जुन जनवादी, गणतन्त्रको उद्देश्य राखेको थियौं, त्यो गणतन्त्र, समाजवादको यात्रामा अझै हामी अघि बढ्न जरुरी छ ।’ उनले भने ‘आफूहरु कमान्डर, लडाकु हुँदै जनप्रतिनिधि बनेको र पछि सरकारमा पुग्ने बताउँदै ती योद्धा, घाइते तथा वेपत्ताहरुको सपना पुरा गर्न कत्ति पनि विचलित नभई आफू सरकारमा भए पनि नभए पनि योद्धाहरुको सपना पुरा गर्न विचलित हुने कुनै सपना नदेखेको छैन ।’

आइतबार माओवादी केन्द्र तुलसीपुर वडा नम्बर १८ का अध्यक्ष लोक बहादुर बहकरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्की(राजेश)को प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रमको बारेमा माओवादी केन्द्र तुलसीपुर १८ वडा कमिटिका उपाध्यक्ष पुर्ण बहादुर डाँगीले कार्यक्रमबारे प्रकाश परेका थिए ।

कार्यक्रममा केन्द्रीय लेखा समिति सदस्य रामबहादुर दहित, तुलसीपुर नगर सचिव तुलाराम भण्डारी, तुलसीपुर नगर सहइञ्चार्ज चित्रबहादुर खड्का(अनुपम), सहिद परिवार तिले बुढाथोकी, घाइते योद्धा भुलबहादुर विक लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रको सहजीकरण वडा कमिटि सहसचिव गिरीराज नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस