भारतले दियो २ सय वटा मिर्गौला डायलाईसिस मेसिन

काठमाडौं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् ।

करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे ।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस