
दाङ । आजदेखि दाङ–काठमाडौं सुतेर यात्रा गर्न सकिने सुविधासहितको बस सञ्चालन हुने भएको छ । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाडौं रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन हुन लागेको हो ।
त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर दाङले पहिलो पटक आज साँझदेखि यस्तो सुविधाको बस संचालन गर्ने जनाएको छ । साविक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । भारतबाट ल्याइएका यी बस आजदेखि नियमित रुपमा सञ्चालन हुने प्रालिले जनाएको छ ।
दाङदेखि काठमाडौंसम्म आरामदायी यात्रा गर्न सुत्न मिल्ने सिट रहेका चार वटा एयर सस्पेन्सन स्लीपर बस सञ्चालन गर्ने प्रालिका अध्यक्ष सुरेश हमालले बताए । बसमा ४० सिट छ । ती मध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरु बसेर यात्रा गर्न मिल्ने रहेका छन ।
अध्यक्ष हमालका अनुसार दाङदेखि काठमाडौंसम्म सिटमा बसेर यात्रा गर्नका लागि यात्रुले १ हजार ८ सय रुपैयाँ र सुतेर यात्रा गर्न चाहाने यात्रुले २ हजार रुपैयाँ भाडा तिनुपर्ने छ । यस्ता सुविधा भएका चार वटा बस ल्याइएकोमा दुई वटा दाङ–काठमाडौं तथा दुई वटा दाङ र भारतको दिल्ली चल्ने छन् ।