
काठमाडौं । पश्चिमी निम्न चापीय प्रणाली कमजोर बनेसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुन थालेको छ ।
हिजोअस्ति वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन ।
पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । यसैबीच, देशभरकै तापक्रम बढ्न थालेको छ ।
वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति चिसो बढे पनि अब बिस्तारै तापक्रम बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पुस महिनामा परेको वर्षाले जाडो बढाउँछ भने माघ महिनाको वर्षापछि बिस्तारै गर्मी बढ्दै जान्छ । यसपालिको हिउँदमा खासै पानी पर्न सकेको छैन । यसले गर्दा सुक्खापन बढेको छ भने कृषि बालीमा नोक्सानी पुगेको छ ।