आंशिक बदली देखिए पनि तत्काल पानी नपर्ने : मौसमविद्

काठमाडौं । आज देशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि समान्य बदली हुने सम्भावना छ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँसो हट्ने अनुमान गरिएको छ । आंशिकदेखि समान्य बदली हुने सम्भावना भए पनि तत्काललाई वर्षा हुने सम्भावना नरहेको मौसमविद् विनु महर्जनले बताइन् ।

यसपालि हिउँद सुरु भएदेखि अहिलेसम्म वर्षा हुन सकेको छैन । पानी पार्ने प्रणाली नआउँदा हिउँदे वर्षा हुन नसकेको र यसले गर्दा हिमपात समेत नभएको मौसमविद्ले बताएका छन् । हिउँदयामको डेढ महिना पानी नपरि बितेको छ ।

डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम भनिन्छ । डिसेम्बर महिनाभरि नै पानी परेन भने आज जनवरी १० तारिखसम्ममा आइपुग्दासम्म पनि वर्षा हुन सकेको छैन । अबको एक हप्ता पनि पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद् विनु महर्जनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस