
धनुषा । सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक विद्यार्थीको मृत्यु भएको छ । शिक्षिकाको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीयले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको मिर्चैयामा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् ।
स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।
सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो । गत शुक्रवार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । विद्यालयको एक शिक्षिकाले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले सिर्जनाको ज्यान गएको स्थानीयवासीले बताएका छन् ।
सिर्जनाको उपचारका क्रममा हिजो शनिवार मृत्यु भएको प्रहरीले जनाएको छ ।