नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु, २८ जनामा सङ्क्रमण

बाँके । नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालकको मृत्यु भएको छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको मृत्यु भएको हो ।

बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अहिले नेपालगञ्जका ५, ७, ८, १०, १५ र २२ गरी ७ वडामा दादुराको सङ्क्रमण देखिएको छ । नेपालगञ्जमा अहिलेसम्म दादुरा सङ्क्रमण हुने सङ्ख्या २८ पुगेको उपमहानगरले जनाएको छ । 

दादुरा सङ्क्रमण देखिएका प्रायजसो बालबालिकामा सम्पूर्ण खोप नलगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकालाई १३ प्रकारका खोप लगाइन्छ । तीमध्ये दादुराको खोप ९ महिना र १५ महिनामा लगाउने गरिन्छ ।

पहिलो पटक लगाउने डीपीटी खोपले बालबालिकामा ज्वरो आउने भएकाले त्यसपछिका खोप अभिभावक डराएर छुट्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमित बालबालिकामा पहिलो खोप लगाए पनि दोश्रो मात्रा छुटेको पाइएको छ ।

१५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराको खोप दिने उपमहानगरको तयारी छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस