
काठमाडौं । नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।
गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो । त्यही आधारमा छानबिन थालिएको सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले बताए ।
काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको बताएका थिए । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।
तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुले बाहिर सार्वजनिकरुपमा बोल्ने खेलाडी र अफिसियलहरुबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् ।
सीआईबीले औपचारिकरुपमा अनुसन्धान सुरु गरेकै दिन नेपाल क्रिकेट संघ (क्यान) ले पनि जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको छ । सट्टेबाजीमा संलग्न कम्तिमा ४० जनालाई सीआईबीले पक्राउ गरिसकेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ पुसदेखि सुरु भएको खेल २७ पुससम्म चल्नेछ ।