कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वविजेता बनेका लियोनेल मेसीको सम्मानका बारेमा पछिल्लो समय अनेकन कार्यहरू भइरहेका छन्।
अर्जेन्टिनाको राष्ट्र बैंकले मेसीलाई त्यहाँको नोटमा राख्ने विषयमा छलफल गरिरहँदा विश्वकप आयोजक राष्ट्र कतारले भने मेसी बसेको होटलको कोठालाई भने ‘म्युजियममा’ परिणत गर्ने भएको छ।
लियोनल मेसी र अर्जेन्टिनी टिमका समर्थकहरूलाई यो निर्णयले निके खुसी बनाउने पक्का छ।

सन् २०२२ को विश्वकपका लागि लियोनल मेसी बसेको जुन होटलको कोठा थियो, त्यसलाई अब म्युजियममा परिणत गर्ने निर्णय कतार विश्वविद्यालयले गरेको हो।
विश्वविद्यालयले अबदेखि यो कोठाले कोही पनि पाहुनाको आतिथ्य नगर्ने मार्काले जनाएको छ।
कतारी समाचार संस्था क्युएनएले ट्वीट गर्दै मेसी बसेको कोठाको तस्बिर पनि सँगै राखेको छ। मेसीले प्रयोग गरेको कोठालाई अबदेखि भ्रमणकारी पाहुनालाई मात्र नभएर विद्यार्थीका लागि पनि भ्रमणका लागि खोलिने छ।
कतार विश्वविद्यालयकै परिसरमा यो होटल रहेको छ र यसमा सबै खाले आधुनिक सुविधा उपलब्ध छन्।
त्यसैले अर्जेन्टिनाले बाहिरका आरामदायी र महँगा होटलको स्थानमा यसलाई रोजेको थियो। सन् २०१९ को क्लब वर्ल्डकपका बेला लिभरपुलले पनि यस होटललाई प्रयोग गरेको थियो।
अब मेसी बसेको कोठलाई अझ बढी सजाइने छ र पछि यसमा उनीसँग जोडिएका खेल सामग्री पनि थपिँदै लगिने जनाइएको छ।

कतार विश्वविद्यालयका सञ्चार निर्देशक हिट्मी अल हिट्मीले कोठालाई म्युजियम बनाउने विषयमा भनिन्, ‘मेसी बस्दा कोठाजस्तो स्वरूपमा थियो, त्यसमा कुनै परिवर्तन गरिने छैन। अबदेखि यसलाई म्युजियमका रूपमा राखिने छ।’
उनले विशेषतः मेसी कस्ता खेलाडी थिए भनेर यो कोठा भ्रमण गरेर विद्यार्थीले अनुभव प्राप्त गरून भन्ने उदेश्य राखिएको बताए। साथै उनले अर्जेन्टिनाले कसरी विश्वकप जितेका थिए, त्यसको प्रतीकका रूपमा पनि यो कोठालाइ लिइने जानकारी दिएको थियो।
अर्जेन्टिनाले २०२२ को कतार विश्वकप जित्दै तेस्रो पटक विश्व विजेता बनेको थियो। यसअघि उसले सन् १९७८ र १९८६ मा पनि विश्वकप जितेको थियो।


