काठमाडौंमा आज यसवर्षकै चिसो, भोलि बाग्मती, गण्डकी र लुम्बिनीमा पानी पर्ने सम्भावना

काठमाडौं । देशैभर मौसम बदली भएको छ । धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । आज पहाडी क्षेत्रको मौसम दिउँसो पनि आंशिक बदली हुने सम्भावना छ ।

तराईका जिल्लामा भने आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाडौंसहित पहाडी जिल्लामा भने हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । तर आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

आज दिनभरजसो मौसम आंशिक बदली रहने मौसमविद् मानन्धरले जानकारी दिइन् । आज काठमाडौंमा यस वर्षकै चिसो छ । हिजोको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसले घटेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ ।

यसैबीच, भोलि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । यसपालि अहिलेसम्म हिउँदे वर्षा सुरु हुन सकेको छैन । तर, पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले भोलि हल्का वर्षाको अनुमान गरिएको हो ।

यो प्रणालीका कारण आज रातिदेखि नै चिसो अझ् बढ्ने अनुमान छ । हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ । मौसमविद्का अनुसार पर्सि फेरि मौसममा सुधार आउने सम्भावना छ ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस