काठमाडौं । युवा फरवार्डले गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा खेल्दै ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।
पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ड्रप गरी युवा फरवार्ड गोन्सालो रामोसलाई राख्ने साहसिक निर्णय लिएका थिए । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए ।
रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।
रोनाल्डो बेन्चमा हुँदा कप्तानको जिम्मेबारी लिएका डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा दुई गोल गरेको पोर्चुगल दोस्रो हाफमा पनि रोकिएन । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३–० बनाए ।
५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४–० पुर्याए ।
५८औं मिनेटमा स्वीजरल्याण्डका मानुएल अकान्जीले गोल फर्काउँदै गोल अन्तर घटाएका थिए । तर, ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने पोर्चुगलको अग्रता फराकिलो बनाए ।
इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६–१ को जित दिलाए ।
पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।


