तुलसीपुर । तुलसीपुरको दमारगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ मा आज (मंगलबार) सेमिफाइनल खेल हुने भएकाे छ ।
टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा युवा संजाल तुलसीपुर ३ र ज्ञान ज्योति क्लब तुलसीपुर रातो भिड्नेछन् । खेल मध्याह्न १२ हुनेछ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा टाईगर युवा क्लब तुलसीपुर ३ ए र ज्ञान ज्योति क्लब तुलसीपुर कालो आमनेसामने हुने आयोजकले जानकारी दिएको छ । यसैबिच सोमबार भएको अन्तिम क्वाटर फाईनल खेलमा फर्साटिकर फुटबल क्लबलाई शुन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै टाईगर युवा क्लबले सेमिफाइनल यात्रा तय गरेको छ ।
उल्लेख्य दर्शकका बिच भएको खेलको पहिलो हाफ् गोल रहित कडा प्रतिस्पर्धा र रोमाञ्चक भएपनि दोस्रो हाफ्मा फर्साटिकरको कमजोर डिफेन्सिपका कारण टाईगरलाई ४-० को जित निकाल्न सहज भयो ।
फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । प्रतियोगितामा दाङलगायत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको छ ।