काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले गोल गरेपछि पोल्याण्डलाई ३–१ गोलअन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने एमबाप्पेले दोस्रो हाफमा दुई गोल थपे । खेलको अन्तिम मिनेटमा पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए ।
जिरुडको कीर्तिमानी गोलमा पहिलो हाफमा अग्रता लिएको फ्रान्सका लागि दोस्रो हाफमा एमबाप्पेले दुई गोल थपे ।
७४औं मिनेटमा किलिएन एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । जारी विश्वकपमा उनको यो चौथो गोल हो ।
२४ वर्ष पुग्नुअघि नै विश्वकपमा ८ गोल गर्ने पहिलो खेलाडी बन्दै एमबाप्पेले कीर्तिमान बनाएका छन् । इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै उनले आफ्नो कीर्तिमानलाई अझै बलियो बनाए ।
जारी विश्वकपमा ५ गोल गरिसकेका एमबाप्पे सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । यस्तै उनले विश्वकपमा ९ गोल गरिसकेका छन् । २०१८ मा रुसमा भएको विश्वकपमा एमबाप्पेले डेब्यू गर्दै ४ गोल गरेका थिए ।
फ्रान्सले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र सेनेगलबीच हुने खेलको विजेतासँग खेल्नेछ । यो खेल आजै राती हुनेछ ।