रोल्पाको रुन्टिगढीका दुई विद्यालयको अनुगमन

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले दुई विद्यालय अनुगमन गरेको छ । शिक्षामा केही परिवर्तन तथा सुधार ल्याउने उद्देश्यका साथ सोमबार दुई वटा विद्यालयको अनुगमन गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ४ मसिनामा रहेको सूर्यदय माध्यामिक विद्यालय र वडा नम्बर २ मा रहेको उमाभक्त आधारभूत विद्यालयमा अनुगमन भएको हो । विद्यालय अनुगमनमा विद्यालयको भौतिक संरचना जीर्ण र जोखिम रहेको पाइएको छ। शौचालयहरुमा समेत सरसफाइ नभएको र प्रयोग भएको प्याड समेत सहि ढङ्गबाट ब्यवस्थापन नभएको भेटिएको थियो । शौचालयमा पानीको ब्यवस्था नएको, कक्षाकोठा सरसफाइ नभएको भेटिएको छ । शैक्षिक क्षेत्रलाई उकास्नको लागि विद्यालय शिक्षकहरुसँग छलफल समेत भएको थियोे ।

छलफलमा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले शिक्षाको गुणस्तर पछिल्लो समय खस्किदै गएको कुरा उल्लेख गर्दै शिक्षाको स्तर बढाउने उदेश्यका साथ अनुगमनमा लागेका उल्लेख गरेका छन् । विद्यालय अनुगमन हुनु निकै सकारात्मक पक्ष भएको विद्यालय प्रधानध्यापक धर्म घर्तीले बताएका छन् । विद्यालय अनुगमन बेला बेला भइरहने हो भने आफुहरुलाई समेत विद्यालयको समस्या दर्साउन सजिलो हुने उल्लेख गरे।

त्यस्तै रुन्टीगढी शिक्षा शाखाका प्रमुख अन्जु शर्माले विद्यालय व्यवस्थापन समितिको बैठक कम्तीमा २ महिनामा १ पटकसम्म बस्नुपर्ने बताउदै जसबाट शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिने उल्लेख गरिन् ।

त्यस्तै उमाभक्त आधारभूत विद्यालयमा अनुगमनका क्रममा विद्यालय ब्यवस्थापन समितिको बैठककै बस्न नसकेको पाइएको छ । जसको कारणले शैक्षिक व्यवस्थापनमा समस्या आएको विद्यालयका प्रधानाध्यापकले बताए।

उक्त विद्यालयमा विद्यार्थीलाई खाजा खुवाउने कार्यक्रम नियमित गराउने, शौचालय र विद्यालय वातावरणमा सरसफाइ गर्नुपर्ने जस्ता सुझावहरु दिइएको थियो । अनुगमन रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, शिक्षा शाखा प्रमुख अन्जु शर्मा, नेपाल शिक्षक महासंघका अध्यक्ष भिम बहादुर दसौदी, सामाजिक विकास समिति संयोजक तथा वडा न ७ का अध्यक्ष टेकलाल पुनको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस