
काठमाडौं । युवा स्पनिर आयन अफ्जल खानले एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) डेब्यू खेलमै उत्कृष्ट बलिङसहित ४ विकेट लिएपछि पहिलो ओडीआई खेलमा नेपाल टिम युएईसँग ८४ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा घरेलु टोलीलाई पराजित गरेपछि युएईले तीन खेलको शृंखलामा १९० को अग्रता बनाएको छ ।
२६४ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेले पनि ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । मनोज प्रभाकर प्रशिक्षक बनेपछि केन्या भ्रमणमा केही आशा देखाएको नेपालको ब्याटिङ घरेलु मैदानमा धर्मरायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र अर्जुन साउदले अर्धशतक बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । दीपेन्द्रले ५४ र ओडीआईमा डेब्यू गरेका अर्जुनले ५१ रन जोडे ।
नेपालको इनिङ्स धरासयी बनाउने क्रममा आयन खानले ४ विकेट लिए । यसै खेलबाट नेपालका रोहित पौडेल र युएईका सिपी रिजवानले ओडीआईमा कप्तानी डेब्यू गरे । तर, दुवैका लागि सुदख भएन । आआफ्नो इनिङमा रोहित १ र रिजवान २ रनमा आउट भए ।