दाङ । दाङको राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । आँखा उपचार केन्द्रका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र राप्ती गाउँपालिकाबीच सम्झौता भएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङबीच बुधबार सम्झौता भएको हो । राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी भएको स्थान भएकाले बार्षिक करिब १० लाख भन्दा बढि जनसंख्याले आँखाको सेवा पुर्याउनका लागि तिलगंगा आँखा सर्जिकल केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष विष्टले बताए । लामो समयको संघर्ष पछि आँखा उपचार केन्द्र सञ्चालनमा आउन लागेको अध्यक्ष विष्टले बताए ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको शाखाका रुपमा सञ्चालन हुन लागेको उक्त केन्द्रले दृष्टि तथा आँखा जाँच, आँखा सम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको शल्यक्रिया सेवा, औषधी तथा चश्माको विक्री वितरण गर्नेछ । त्यस्तै आबश्यक विरामीहरुलाई रिफरल सेवा, आँखा रोग सम्बन्धी आकस्मिक सेवा प्रदान, आँखा स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने छ ।
त्यस्तै केन्द्र सञ्चालनका लागि प्रतिष्ठानले कर्मचारी तथा सामग्री ब्यवस्था गर्ने, सेवा शूल्क निर्धारण गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौता ३० बर्षको रहनेछ । साथै आपसी सहमतिमा सम्झौतालाई पुनः नविकरण गर्न सकिने अध्यक्ष विष्टले बताए ।
केन्द्र सञ्चालनको प्रक्रिया पूरा गरेर छिट्टै सञ्चालनको तयारी समेत भएको अध्यक्ष विष्टले बताए ।


