उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरिंदै

काठमाडौं । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछन् ।

छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन् । छठमा सूर्यदेवको उपासना गरिन्छ ।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलाईं ‘सौँझकारक’ पनि भनिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठले केही वर्षदेखि राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले आज बिहानै उदाउँदो सूर्यलाई अरंघ्य दिएका छन् । यससँगै छठको औपचारिक समापन हुँदैछ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस