मनकामना जाँदै गरेको बस दुर्घटनाका ५ जनाको मृत्यु

काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जाँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस