काठमाडौं । विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् । हिमालय टेलिभिजनबाट दुईवटा च्यानलबाट खेलहरु प्रसारण गर्नेगरी तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।
‘विश्वकपजस्तो ठूलो कन्टेन्ट देखाउन पाउनु टेलिभिजनका लागि आफैंमा ठूलो अवसर हो,’ टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले भने, ‘त्यसैले नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन तत्पर भएका हौं ।’
ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको समेत उनले बताए ।
फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।
विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको धितालले जानकारी दिए ।
नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरिसकेको छ । विश्वकप हेर्न चाहने दर्शकले अहिलेदेखि नै आफ्ना केबल वितरक वा सेवा प्रदायकसँग कुरा गरेर ग्राहक बन्न सक्ने मिडिया हबले जनाएको छ ।
सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ । यसपटक नयाँ मोडलमा काम गर्नका लागि टेलिभिजन उद्योगका विभिन्न स्टेकहोल्डरसँग सहकार्य गर्न लागिएको धितालले बताए।