मेट्रो कलेजमा सर्प संरक्षण र उद्दार तालिम

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा सर्प संरक्षण र उद्दार सम्बन्धी तालिमको आयोजना गरिएको छ । वन विज्ञान अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको कार्यक्रममा वातावरणीय सन्तुलन कायम गर्नका लागि सर्प संरक्षण गर्नुपर्ने सबैको जोड थियो ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले सर्प संरक्षणमा नयाँ पुस्ताले चासो देखाउनु सुखद भएको बताए । ‘सर्प हाम्रो साथी हो, यसले हाम्रो जीवन लिने भन्दा पनि बचाउँने काम गर्दछ’ नगरप्रमुख खड्काले भने । उनले सर्पले मान्छेलाई कुनै जटिल परिस्थिति नआउँदासम्म नटोक्ने बताउँदै मानव जीवन रक्षामा सर्पको आवश्यकता हुने कुरामा जोड दिए ।

नेपालमा ९० भन्दा बढी प्रजातिका सर्प पाइने बताउदै नगरप्रमुख खड्काले घर आँगनमा आएको सर्पलाई मार्ने भन्दा पनि उद्दार गर्नुपर्ने बताए । ‘वन विज्ञानका विद्यार्थीहरुले त्यसमा विशेष भुमिका हुने गर्दछ’ उनले भने ।
कलेज प्रमुख वसन्त आचार्यले सर्प संरक्षण गर्नु वन विज्ञान अध्ययनरत विद्यार्थीहरुको दायित्व भएको बताउँदै सर्पसँग डराउने भन्दा पनि त्यसलाई सही ढंगले उद्दार गर्नुपर्ने बताए । वायुमण्डलमा रहेको विषाक्त ग्याँस लिएर मानव स्वास्थ्य संरक्षण गर्नका लागि सर्पको निकै महत्वपूर्ण भूमिका हुने गर्दछ । उनको भनाइ थियो।

कार्यक्रममा प्रशिक्षक वसन्त सुवेदीले ज्ञानको अभावमा सर्पहरु मार्ने गलत प्रवृति बढ्दै गएको बताए । उनले सर्प संरक्षणमा सबैले ध्यान दिनुपर्ने कुरामा पनि जोड दिए । २ दिनसम्म चल्ने तालिमको उद्घाटन कार्यक्रममो सहजीकरण वन विज्ञान प्रशिक्षक लक्ष्मी केसीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस