तुलसीपुर १८ बाल श्रममुक्त वडा घोषणा

हेमन्तपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बाल श्रममुक्त वडा घोषणा गरिएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १,२ र ६ वडा बालश्रम मुक्त घोषणा भइसकेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले प्रतिबद्धता पत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८मा दश जना बालबालिकाहरु व्यवसायीक र घरेलु कामदारकारुपमा रहेका थिए । ती मध्ये सात जना अन्यत्रका र तीन जना वडाभित्रकै रहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिइन् ।

दश जना बालबालिकाहरुलाई परिवारमै स्थानान्तरण गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ र १७लाई समेत बालश्रम मुक्त घोषणा तयारी गरिएको छ । बालश्रम मुक्त घोषणा बापत नगरप्रमुख टीकाराम खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

वडाध्यक्ष माधव वलीले बालश्रममा रहेका बालबालिकाहरुको परिवारलाई आर्थिकरुपमा सबल बनाउनका लागि उद्यमशील कार्यका लागि आर्थिक सहयोग गरिएको बताए । उनले ती बालबालिकाहरुलाई विद्यालयमा पढ्नका लागि शैक्षिक सामग्री, पोशाक उपलब्ध गराइएको जानकारी दिएका हुन् ।


कार्यक्रममा नेपाली कांग्रेशका विरेन्द्र खड्का, एमालेका मुकेश वली, माओवादीका लोक वहादुर वहकरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, बिद्यार्थी नेता सर्जन परिवार लगायतकाले बोलेका थिए ।

१८ नम्बरका वडाध्यक्ष माधव वलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण वडा सचिव राम कुमारी मरासिनीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस