रुकुम पूर्वमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा विहीबार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्वको भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, चालक रामेछापका लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेका छन् ।

यस्तै घाइतेहरुमध्ये चार जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस