कैदीबन्दीलाई पाँच दिने सीपमुलक तालिम

घाेराही। घोराही कारागारमा रहेका कैदीबन्दीलाई पाँच दिने सिपमुलक तालिम सुरु भएको छ। कारागार कार्यालय घोराहीको आयोजना तथा समाज कल्याण केन्द्र दाङको समन्वय एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोग र नयाँ पाईला पुर्नस्थापना केन्द्रको सौजन्यमा पाँच दिने सीपमुलक तालिम शुरु गरिएको हो ।

समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यमा बुधबारबाट तालिम शुरू भएको हो ।

कार्यक्रममा जेलर बासुदेव खनालले गाँस, बास र कपासको व्यवस्थामा कैदीबन्दीको अधिकारको विषय भएकाले उनीहरुलाई कानुनले वर्जित गरेको विषय बाहेक अरु कुरामा स्वतन्त्रता दिनुपर्ने मान्यताका साथ अहिले काम भइरहेको बताए । कैदीबन्दीहरुलाई दण्डगृह, अपराध गृह नभई चेतना गृह, सुधार गृहका रुपमा स्थापित गर्दै मानिस बनाउन आचरण सुधारसँगै नैतिकवान बनाउने काम भइरहेको उनको भनाइ छ ।

कारगारमा रहेका ३ सय २४ जना कैदीबन्दी मध्ये केहीले अहिले पनि सीपलाई उत्पादनसँग जोडेर मासिक १० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाउँदै आएको हुँदा सबै व्यक्ति कुनै न कुनै सीपमा जोडिन सके भोलिका दिनमा समाजमा सहज रुपमा बाँच्न सक्ने अपेक्षाका साथ यो अभियान अघि बढाइएको वडा अध्यक्ष पाण्डेले बताए।

मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेतले सजाय भुक्तानपछि परिवार र समाजमा अन्तरघुलन हुने वातावरण बनाउन व्यक्ति सक्षम हुनुपर्ने बताए ।

कैदीबन्दीहरुले तालिममा मैनवत्ती, अगरबत्ती, सरफ बनाउन सिक्नेछन् । तालिमको मुख्य प्रशिक्षकमा विष्णु थापा रहेका छन् । केन्द्रकी सदस्य पार्वता योगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विन्दु दाहालले गरेकी थिइन्।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस