चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले पत्र लेखेर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।

त्यस्तै आयोगले जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो ।

आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले सरकारी खर्चमा वैदेशिक भ्रमण नगर्न पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोजक र प्रायोजकले खर्च व्यहोर्ने गरी स्वीकृत भएको वैदेशिक भ्रमणबाहेक नेपल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट खर्च हुने गरी वैदेशिक भ्रमण गर्न नपाइने आयोगको भनाइ छ ।

नेपाल सरकार, ७ वटै प्रदेश सरकार र ७ सय ५३ वटै पालिकालाई निर्देशन दिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस