परीक्षाका लागि तयार रहन लोक सेवाको आग्रह

काठमाडौं । लोक सेवा आयोगले रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै परीक्षार्थीहरुलाई तयारीमा अवस्थामा रहन आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो ।

विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने उल्लेख छ ।

विभिन्न समयमा अदालतमा दायर गरिएका निवेदनका कारण झन्डै एक हजार दरबन्दीका परीक्षा प्रभावित भएको लोक सेवा आयोगले जनाएको छ । ती सबै पदपूर्ति यही आर्थिक वर्षभित्र गरिने आयोगको भनाइ छ ।

सर्वोच्च अदालतले हिजो मङ्गलवार सङ्घीय संरचना लागू भएपछि भएका कर्मचारी समायोजनसम्बन्धी ९८ मध्ये धेरैजसो रिटमा अन्तिम फैसला सुनाएको हो । धेरैजसो रिट खारेज भए पनि पूर्ण पाठ नआइसकेकाले पूर्ण पाठ आएलगत्तै परीक्षाका कारबाही अघि बढाउने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस