दाङ । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३: १५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उनले सुनाए । भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।
कोरोना महामारी फेरि बढ्न थालेकाले पशुपतिनाथ मन्दिर छिर्ने मूल ढोकामा मास्क नभएका भक्तजनलाई मास्क वितरण गरेरमात्र प्रवेश गराइएको छ । स्वास्थ्य सुरक्षाका लागि कोषले यस्तो उपाय अपनाएको पराजुलीले सुनाए ।
बिहान ३ः१५ बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजन बिहानैदेखिको घामका कारण छाता ओढेर लाममा बसेको देखिन्छ । सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि पशुपति क्षेत्रमा भीड छ । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरि वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् । कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ ।
साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर महादेवलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान चार बजेदेखि नै यी मन्दिरको ढोका पनि खुला गरिएको जनाइएको छ ।
यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ । रासस