तुलसीपुर । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ जिल्ला शाखा दाङको दोस्रो साधारणसभा तथा अधिवेनशन शनिबार सम्पन्न भएको छ । तुलसीपुर स्थित राप्ती शान्ति उद्यानमा भएको अधिवेशनको उद्घाटन गर्दै आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरले स्वस्थ समाज निर्माणमा आयुर्वेद चिकित्सकको महत्वपूर्ण भूमिका रहेको बताए ।
चिकित्सा पद्धतिको सीमा र मर्यादामा रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै डा. ठाकुरले आयुर्वेद चिकित्सा पद्धतिमा भएका प्रभावकारी उपायहरु अवलम्बन गरेरनै स्वस्थ समाज निर्माण गर्न सकिने बताए । चिकित्सा पद्धतिमा उपचारको ग्यारेन्टी र योग्यता बिना बाल रोग तथा स्त्रीरोग विशेषज्ञ भनेर जथाभावि उपचार गर्नु दण्डनीय कार्य भएको उनले बताए ।
त्यस्तै कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष देब बहादुर बस्नेतले पछिल्लो समय आयुर्वेद औषधितर्फ नागरिकको रुचि बढ्दै गएको बताउँदै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए । आफ्नो व्यवसाय मात्रै भन्दा पनि मानवीय सेवालाई समेत ध्यानमा राखेर औषधिको बिक्रबितरण गर्नुपर्ने उनले बताए ।
त्यस्तैगरी वरिष्ठ आयुर्वेद चिकित्सक डा. मुरली मनोहर रौनियार, नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. देवराज केसी, नेपाल औषधि थोक व्यवसायी संघ दाङका अधयक्ष शेषकान्त ढकाल, आयुर्वेद चिकित्सक डा. सन्तोष खनाल, आयुर्वेद औषधि व्यवसायी संघ कर्णाली प्रदेशका सचिव ठान बहादुर केसी, प्रदेश सहसचिव ध्रुव गोराथोकी लगायतले शुभकामना दिएका थिए ।
संघका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव हेमराज पन्तले गरेका थिए ।