पृथ्वीको घुम्ने गति किन सुस्त हुँदैछ ?

पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ ।

आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल हाम्रो समयको गणनामा मात्र असर पर्नेछैन जीपीएस, नेभिगेसन तथा सञ्चारसम्बन्धी विभिन्न प्रविधिहरूमा पनि समस्या आउन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

पृथ्वीमा दिनको गणना उसले आफ्नो कक्षमा एक फन्को लगाउने समयका आधारमा गरिन्छ । तर पृथ्वीले आफ्नो कक्षमा घुम्ने गति दुई वर्ष अघिसम्म लगातार बढिरहेको थियो । पछिल्लो केही दशकदेखि हाम्रो दिनको लम्बाइ छोटो भैरहेको थियो । गत जुन २९ मा सबैभन्दा छोटो दिनको रेकर्ड पनि दर्ज भएको थियो । अर्थात् उक्त दिन पछिल्लो आधा शताब्दीको सबैभन्दा छोटो दिन थियो ।

तर, गत जुन २९ मा सबैभन्दा छोटो दिन रेकर्ड गरिएको भपनि सन् २०२० देखि नै पृथ्वीको कक्षमा घुम्ने गति अर्थात् परिक्रमणको गति सुस्त हुँदै गएको हो । यसका कारण दिन लामो हुँदै गएको थियो । यो किन भैरहेको छ वैज्ञानिकहरू पनि अनभिज्ञ छन् । यसको कारक तत्व पृथ्वीमा आउने भूकम्प वा ज्वालामूखी विस्फोटा हुनसक्ने अनुमान उनीहरूको छ ।

हाम्रो फोन वा घडीमा त पहिले जस्तै २४ घण्टाको एक दिन देखिइरहेको छ । तर पृथ्वीले यसअघि २४ घण्टामा आफ्नो कक्षमा फन्को लगाउनेमा अहिले केही थप समय लिइरहेको छ ।

पछिल्ला केही दशकदेखि पृथ्वीको आन्तरिक संरचना र सतहको बीचमा एक सम्बन्ध बनेको छ । ठूला भूकम्प आउँदा त्यसले पृथ्वीको दिनको लम्बाइ परिवर्तन गरिदिने गरेको पाइएको छ, भलै अन्तर कम समयको होस् । जस्तै सन् २०११ मा जापानमा आएको ८.९ रेक्टर स्केलको भूकम्पले पृथ्वीको घुम्ने गतिलाई १.८ मिलिसेकेन्डले बढाइदिएको थियो । भूकम्प जस्ता ठूलो घटनाका अतिरिक्त जलवायु परिवर्तन, मौसममा हुने परिवर्तन जस्ता ससाना घटनाक्रमले पनि पृथ्वीको दिनको समयमा परिवर्तन हुने गरेको छ । पृथ्वीको घुम्ने गतिलाई हर क्षेत्रले प्रभावित गर्ने गरेको छ ।

हरेक १५ दिन वा महिनामा आउने ज्वारभाटीय चक्र अर्थात् लहरको गति भारी मात्रामा ग्रहको चारैतर्फ घुम्दछ । यसका कारणले पनि पृथ्वीको दिनको समय कम वा धेरै हुन्छ । समुद्रका लहरका कारण हुने परिवर्तन आमरुपमा १८.६ वर्षमा एक पटक हुन्छ । वर्तमानमा पृथ्वीको गतिमा सबैभन्दा धेरै असर वायुमण्डलको चलायमानताले पार्ने गरेको छ । यसका अलावा हिमपात, वर्षा, जमिनबाट पानी निकाल्ने जस्ता कार्ये पनि पृथ्वीको गतिमा असर पार्ने गरेका छन् ।

सन् २०२२ को जुन २९ इतिहासकै छोटो दिन हुनुका बाबजुत सन् २०२० पछि नै पृथ्वीको परिक्रमणको समय बढिरहेको छ । यस्तो परिवर्तन पछिल्लो ५० वर्षमा देखिएका थिएन । अहिलेसम्म यो परिवर्तनको खास कारण पत्ता लागेको छैन । – एजेन्सी

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस