
बुटवल । रुपन्देहीको तिलोत्तमा–१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।
मोहनले साउन १५ गतेदेखि पटक–पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ ।
श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवम् ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ ।
उजुरी दिने वर्षा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीकी बुहारी हुन् । वर्षाले सासूलाई समेत झिकाएर छानबिनको माग गरेकी छन् ।
वर्षाका श्रीमान मोहन नवलपरासीस्थित आफन्तकोमा रहेको जानकारी आएकाले उनलाई ल्याएर थप अनुसन्धान अघि बढाउने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए । मोहन गाडी चालक हुन् ।
परिवारका अनुसार वर्षाले दुई सन्तानसहित मोहनसँग बिहे गरेकी हुन् । आफू टुहुरी र अविवाहित भएको भन्दै झुक्याएर बिहे गरेको मोहनको परिवारको आरोप छ ।
पछि विवाहित र दुई सन्तानकी आमा भएको थाहा भएपछि उनीहरूबीच असमझदारी र बेमेल उत्पन्न भएको थियो । नवलपरासी बर्दघाट माइत भएकी वर्षाले कपिलवस्तु बांणगंगाका पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद समेत गरेकी थिइनन् ।
दुई सन्तानलाई माइत राखेर उनी कपिलवस्तुमा एक्लै बस्दै गर्दा मोहनसँग सामाजिक सञ्जालमार्फत चिनजान भई विवाह भएको थियो । आपसी असमझदारीपछि उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने विषयमा सहमति नजिक पुगे पनि वकिलहरूका कारण हुन नसकेको परिवारको आरोप छ ।