
काठमाडौं । करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरूद्ध भएको छ । २४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।
भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबैतर्फ अवरुद्ध भएको हो।
सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ।
आज विहान २ः३० बजेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार अहिले बाटो खुलाउने पहल भइरहेको छ। सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।
प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार