काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ ।
यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गरे ।
नेपाली गोलकिपर इश्वर गुरुङले बल पूर्ण रुपमा रोक्न नसकेपछि नजिकै रहेका टाइसनले गोल गरेका हुन् । खेलको सुरुवातदेखि नै घरेलु टोली भारतले नेपालमाथि दबाब बनाएको थियो ।
पहिलो हाफमा भारतले गोल गर्ने आधा दर्जन भन्दा बढी मौका गुमाएको थियो । नेपालले पनि गोलका केही अवसर बनाएपनि फिनसिङ हुन सकेन ।
नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएर पहिलो जित निकालेको थियो ।
शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाउनका लागि नेपाल र भारत दुवैलाई आजको खेल महत्वपूर्ण छ ।